उकालो फिदिम बजार लाग्दा

0

बिर्तामोडबाट उकालो फिदिमतिर लाग्दा महसुस भयो पहिलाको काठका घरहरू सबै हराइसकेछन् । सडक फराकिलो भएछ, झन्डै–झन्डै काठमाडौं झैं मान्छेहरूको भीड ।

बिर्तामोड बजारको फेरिएको स्वरुप देखेर म स्मृतिमा फर्किएँ । त्यो बेला हरेक महिना साहित्य चौतारीले आयोजना गर्ने कवि गोष्ठीमा कविता पढ्न म पथरीबाट बिर्तामोड पुग्थें । उखरमाउलो गर्मी छलेर बिर्तामोड थाना अगाडिको ठूलो पीपलको रूखमुनि बसेर हामी कविता सुन्ने र सुनाउने गथ्र्यौं ।

त्यो बेला झापाको नाम चलेका पत्रकार र लेखकहरू जम्मा हुने वैचारिक मन्थन गर्ने एउटा गतिलो मञ्च थियो साहित्य चौतारी । हीरा आकाश, मदन ढकाल, देवीभक्त श्रेष्ठ, कृष्ण धरावासी, चन्द्र भण्डारी, भवानी थापा, चूडामणि रेग्मी जस्ता साहित्य र पत्रकारिताको दरिला व्यक्तित्वहरूको थलो थियो, बिर्तामोड ।

यी नामहरू अहिले नेपाली साहित्यको केन्द्रमै स्थापित छन् । कहिलेकाहीं काठमाडौंबाट आदरणीय बैरागी काइँला र डा. गोविन्दराज भट्टराई पुग्नुहुन्थ्यो । राजधानीमा के भइरहेछ हामी उहाँहरूबाट जानकारी पाउँथ्यौं । झापाको धरमपुरमा डम्बर घिमिरे हुनुहुन्थ्यो । निशेष खपाङ्गी, सुन्दर कुरुप, मदन ढकाल, अस्मिता भण्डारी, सुनिता चाम्लिङ चेली, सुमन राई लगायतको हाम्रो टिम थियोे कविता लेख्ने र भन्ने ।

पूर्वमा हुने सबैजसो कार्यक्रममा पर्म लगाए झैं जाने–आउने हुन्थ्यो । वास्तवमा ती दिनहरू अत्यन्तै आत्मीय थिए । साल बिर्सिएँ तर धरमपुरमा भएको साहित्यिक कार्यक्रममा भेट भएपछि म कविताको पाण्डुलिपि बोकेर बैरागी काइँलालाई भूमिका लेखाउन रात्रिबस चढेर काठमाडौं आएकी थिएँ ।

पथरीबाट कविता सुनाउन देवानछाप र फिक्कलसम्म पुग्थें । अहिले सम्झँदा कुन साहसले कविताप्रति यत्रो मोह जगाइयो अचम्म लाग्छ । स्वर्गीय अमर नेम्वाङको योगदान नेपाली राजनीति, साहित्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण छ । नेम्वाङ फाल्गुनन्द गाउँपालिकाको पञ्चायत र प्रजातन्त्र कालमा गरी दुईपल्ट अध्यक्ष हुनुभयो ।

साहित्यमा गम्भीर जानकारी र अध्ययन राख्नुहुने उहाँ आफ्नो पुस्ताबीच सचेत कवि हुनुहुन्थ्यो । उहाँको नामबाट स्थापित पुरस्कारबाट म र नेपाल पत्रकार महासंघ फिदिमको अध्यक्ष गिरिराज सापकोटा सँगै पुरस्कृत भएका थियौं । अनि अर्को सम्मान चाहिं झापा जिल्लामा दुई दशक भन्दा लामो समयदेखि सक्रिय साहित्य चौतारीले गरेको थियो ।

तर दुर्भाग्य दुवै ठाउँमा एकै दिन कार्यक्रम तय भएको कारण म फिदिमतिरै लागें । कहिलेकाहीं कस्तो संयोग पर्दो रहेछ । मेरो निम्ति दुवै उत्तिकै महत्वपूर्ण रहँदारहँदै पनि झापा रहन सकिनँ । तर, चौतारीसँगको संस्मरण अकाट्य छ, जुन मैले माथि भनिसकें ।

ऊ बेलादेखि अहिलेसम्म झापामा समाजसेवी उद्यमी देवीभक्त श्रेष्ठले निरन्तर साहित्य चौतारीलाई संरक्षण र सञ्चालन गरिरहनुभएको रहेछ । वास्तवमै यो सराहनीय कार्य हो । झापा झर्ने बित्तिकै मैले उहिलेको साहित्य चौतारीको भित्ते पत्रिका सम्झिएँ ।

देशमा भर्खरै माओवादी विद्रोह सुरु हुँदै थियो रुकुम–रोल्पातिर । पूर्वमा भने आइसकेको थिएन । बिर्तामोड थाना नजिकै हरेक महिना प्रकाशन हुने साहित्यिक सामग्रीहरूले साहित्यमा आउन चाहने अनुजहरूको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । हरेक महिना कसको आउने हो भनेर हामी हेर्न आतुर हुन्थ्यौं ।

म साहित्य चौतारीले आयोजना गरेका हरेक कार्यक्रममा उपस्थित हुन्थें । हरेक साहित्यिक कार्यक्रम मेरो निम्ति त्यतिकै खुशी लिएर आउँथ्यो । यो पल्ट त्यस्तो भएन म हतारमै सम्मान थापेर फर्किएँ । रिक्सा लगभग विस्थापित भइसकेछ । पुराना पत्रकार डिकमान विरही बितिसक्नुभएछ, कवि हीरा आकाशलाई सम्झिएँ उहाँ पनि बित्नुभएको दशक हुन लाग्यो ।

दाङ खालिङको व्यक्तित्वको अर्कै छाप छ म भित्र । नेपालको समग्र राजनीतिमा झापा जिल्लाको आफ्नै विशिष्टता छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रमुख अतिथि भएको झापा जिल्लास्तरीय कविता गोष्ठीको संस्मरण गज्जबको छ ।

कस्तो भयो भने म पुग्दा प्रतियोगिता सुरु भइसकेको रहेछ । त्यो प्रतियोगितामा म पनि पुरस्कृत भएँ । पुरस्कार रकम ५०० थियो जस्तो लाग्छ । पुरस्कार थापियो, साँझ पथरी आउने गाडी छुटेपछि भ्यानमा दमकसम्म आएँ । फेरि पथरी आउँदा पुरस्कारको त्यो पैसा त्यही दिन सकियो । यस्ता किस्सा कति छन् कति ! हास्ँदै हाँस्दै रुनुपर्ने, रुँदा रुँदा हाँस्नुपर्ने ।

चैतको चर्को घाममा रूखमुनि बसेर कविता भनेको स्मृति जस्ताको त्यस्तै छ । थुप्रै छन् स्मृतिहरू, ती कहाँबाट सुरु गर्ने ? कसरी सुरु गर्ने ? उबेला भर्खरै कविता लेखनतर्फ चासो राख्न सुरु गरेकी मेरो निम्ति पथरीमा साहित्यिक माहोल थिएन ।

तर विराटनगरमा डा. नरेन्द्र चापागाईं, इटहरीमा जीवी लुगुन, दमकमा एलबी जोशी र आचार्य प्रभा, बिर्तामोडमा कृष्ण धरावासी र दाङ खालिङ, धरानमा बद्री पालिखे लगायतको व्यक्तित्व महत्वपूर्ण छ । उहाँहरूले हौस्याइरहनुभयो र नै म साहित्य र पत्रकारितामा रहिरहें ।

म्याक्सिम गोर्कीको आमा उपन्यास बत्तीको बधुरो उज्यालोमा रातरातभरि पढेर सिध्याएको अहिले झैं लाग्छ । प्रकाश कोविद, युधीर थापा र भारतीय जासुसी उपन्यासहरू पढ्नु मेरो आदत जस्तै भएको थियो । हामी किताब साटासाट गरेर पढ्ने गथ्र्यौं । उबेला निशेष खपाङ्गी धेरै राम्रो कवि थियो, अहिले कता छ थाहा छैन ।

उ बेला पठन संस्कृति बलियो थियो । अरूलाई पढ्ने आदतले लेखकको भाषाको पकड बलियो बनाएर आफ्नो शैली निर्माण गर्न सघाउने रहेछ । यो चाहिं लेख्न थालेको अलिक पछि मात्रै मैले थाहा पाएँ । अहिले कनिकुथी लेखेको मैले उबेलाको सिलासाङ्ला हो ।

अहिले इन्टरनेटको सहजताले किताबहरू र्‍याकमा रोएर बसे झैं लाग्छ । वर्षाैं बितिसक्दा बल्ल एउटा किताब मुस्किलले पढिसक्छु । प्रविधिको विकास र सहजतासँगै हामीमा किताबप्रतिको मोह, आत्मीयता र अपनत्व पनि कमजोर भए झैं लाग्छ ।

घरमा त्यसो त बुबाले लक्ष्मीप्रसाद देवकोटा, बम देवान, बेनजिर भुट्टो, इन्दिरा गान्धी लगायत व्यक्तित्वहरूको विषयमा भनिरहनुहुन्थ्यो । अहिले सम्झँदा लाग्छ त्यो मेरो निम्ति प्रस्थानबिन्दु रहेछ, साहित्य लेखनको ।

उपन्यासको पात्रहरूले अँध्यारो रातमा रुवाउँदै हँसाउने र हँसाउँदै रुवाउने गर्थे । धेरै पल्ट मेरो कलिलो मस्तिष्क यो अवस्थाबाट गुज्रिएको छ । भावनामा यति बहकिएछ कि कैयौं महिना घरछेउको सिसौघारीमा बिताएकी छु ।

इन्द्रबहादुर राईको जयमाया आफू मात्र लिखापानी आईपुगी, बैरागी काइँलाको मातेको मान्छेको मध्यरातपछिको भाषण र बीपीको तीनघुम्ती उपन्यासका पात्रहरूले भन्न खोजेको तात्पर्यले कतिपल्ट मेरो मस्तिष्क रन्थनिएको छ । कहिलेकाहीं लाग्छ नेपाली महिलाहरू जसरी साहसी र संघर्षमय जीवन बाँचिरहेछन् त्यसरी त साहित्यको केन्द्रमा पात्रहरू आउन सकेकै छैनन् ।

सकम्बरी जस्तो जब्बर पात्र कति छन् हाम्रो साहित्यमा ? यो प्रश्न घरीघरी दिमागमा आउँछ । राम्रो लेखनको प्रभाव कतिसम्म पर्दोरहेछ भने भूपी र ईश्वर बल्लभका केही कविताहरूले मलाई झुम्म नशा लागेझैं हुन्छ । राम्रो सृजना मन पराउनु प्रेममा पर्नुझैं हुँदोरहेछ । दशकपछिसम्म मन र मस्तिष्कमा रहिरहेका छन् यी नामहरू ।

मलाई केही कविताहरूले अहिलेसम्म पछ्याइरहन्छन् । यस्तो मलाई मात्र हुन्छ कि अरूलाई पनि हुन्छ कुन्नि । हुन त राम्रो कविता केलाई भन्ने ? यो निकै गम्भीर प्रश्न हो । तर पाठकको मनभित्र बस्ने कविता लेख्न सक्नु भनेको जीवनलाई बोध गर्नु रहेछ । कविले आफ्नो वरिपरिको समाजलाई कति गहिरिएर बुझेको छ भन्ने रहेछ ।

अहिलेसम्म बाँचेको भए म सोध्ने थिएँ प्रिय लेखक इन्द्रबहादुर राईलाई– तपाईं आयामेली विचारबाट कसरी लीलालेखनतर्फ विस्तार हुनुभयो ? आखिर यो ब्रह्माण्डको हरेक विवेकशील सजीव वस्तुले आफ्नो विचारलाई समयक्रमसँगै यसरी नै रूपान्तरण गर्दै जाँदो त रहेछ ।

यो विचारलाई पछिल्लो समय कृष्ण धरावासी र रत्नमणि नेपालले अझ बढी विश्लेषण गरिरहेछन् । कसैलाई ओशोले प्रभाव पार्छ त कसैलाई तीन राते तङ्सिङले, कसैलाई विपश्यना ध्यानले— त्यो आ–आफ्नो पक्ष होला ।

मेरो निम्ति राम्रो लेखन के हो ? कसरी लेखकको बौद्धिकतालाई परख गर्ने केही पनि नबुझिकनै पढेका ती लेखकहरूको माध्यमबाट नेपाली साहित्यको केन्द्रमा चलिरहेको बहसलाई बुझ्न सहज बनायो । अझ भनौं नेपाली समाजमा सयौं वर्षदेखि शोषण र दमनमा पिल्सिएर पनि जब्बर जिन्दगी बाँचिरहेका ती महिलाको कथालाई हाम्रो साहित्यले कसरी बुझिरहेछ भन्ने जानकारी दियो ।

नबुझिकनै लेख्नुको आनन्द र बुझेपछि छापी पठाइएको कविताको कारण धेरैपल्ट विरोधाभाषमा अल्झिएकी छु । धेरैपल्ट अब कविता नै लेख्न छोडीदिऊँ कि भन्ने मनमा आएको छ । तर जे जसो भए पनि साहित्य गलतको विरुद्ध प्रतिकार गर्ने एक गतिलो हतियार हो । मैले मेरो आफ्नै मनोदशालाई सन्तुलनमा राख्ने औषधि पाएकी छु ।

साहित्य, कला र संगीतको क्षेत्रमा झापा जिल्लामा सक्रिय साहित्य चौतारी आफैंमा एक अकाट्य नाम हो । हामी आज छौं, भोलि नहुन सक्छौं । त्यहाँ फेरि अरू कोही नै हुन सक्छ, यो सत्य हो । तर योपल्ट पूर्व जाँदा पहिला झैं लागेन सबै बदलिएछ । यसो सोचें म मात्र पो पच्चीस वर्ष अगाडिको त्यो नोस्टाल्जिक सम्झनाबाट अलग हुन नसकिरहेकी रहेछु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply