के हो ‘भाजपा जानौं’ अभियान, किन जान्छन् नेताहरू ?

0

२० वैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेपालबाट ५ राजनीतिक दलका प्रतिनिधि दिल्ली भ्रमणमा छन् । सत्तारुढ पार्टीको ‘भाजपा जानौं’ अभियानमा सहभागी हुन नेपालबाट नेपाली कांग्रेस सांसद उदय शम्शेर राणा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी नेता मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल र जनमत पार्टीका नेता जयकान्त राउत पुगेका हुन् ।

विश्वव्यापी पहुँच बनाउने उद्देश्यले सन् २०२२ को ६ अप्रिलमा पार्टी स्थापना दिवसको अवसरमा सुरू भएको ‘भाजपा जानौं’ अभियानअन्तर्गत यतिबेला जारी लोकसभा चुनावको विषयमा जानकारी गराउन भाजपाले विभिन्न १० देशबाट १८ वटा राजनीतिक दलका प्रतिनिधिलाई भारत बोलाएको बताएको छ ।

यस कार्यक्रमअन्तर्गत ५ दिने भ्रमणका लागि नेपालसहित अस्ट्रेलियाबाट लिबरल पार्टी, भियतनामबाट भियतनाम कम्युनिस्ट पार्टी, बंगलादेशबाट अवामी लिग, इराजयलबाट लिकुड पार्टी, युगान्डाबाट नेसनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाबाट चमा चा मापिन्डुजी र रुसबाट युनाइटेड रसिया पार्टीका प्रतिनिधि सहभागी छन् ।

यस्तै श्रीलंकाबाट श्रीलंका पोडुजना पेरामुना र युनाइटेड नेसनल पार्टी गरी दुईवटा दलका प्रतिनिधि सहभागी छन् । मौरिसस्‌बाट मिलिटेन्ट सोसलिस्ट मुभमेन्ट, मौरिसस् लेबर पार्टी, मौरिसस् सोसलिस्ट मुभमेन्ट र मौरिसियन सोसल डेमोक्रेटिक पार्टीका प्रतिनिधि छन् । बुधबारदेखि सुरू उक्त कार्यक्रममा उनीहरूले भाजपाको हेड्क्वार्टरमा अध्यक्ष जेपी नड्डा, भारतका विदेशमन्त्री एस. जयशंकर र केन्द्रीय रेलमन्त्री आश्विनी वैष्णवलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाइवालेका अनुसार करिब ६० देशका लागि राजनीतिक दलहरूलाई निमन्त्रणा पठाएको थियो । तर, अन्तिम समयमा नेपालसहित १० वटा मुलुकले मात्रै निम्तो स्वीकार गरेर भारत पुगेका हुन् । जसमा ती देशका मुख्य राजनीतिक दलसहित क्षेत्रीय पार्टीका नेताहरू समेत छन् ।

चौथाइवालाले सञ्चार माध्यमहरूलाई दिएको जानकारीअनुसार भाजपाले उनीहरूलाई भारतको आम चुनावको प्रक्रिया, निर्वाचन आयोगको भूमिका, मोडल कोड अफ कन्डक्ट, भाजपाको घोषणा पत्र र चुनावी रणनीतिसँगै अभियानलगायत विषयमा ब्रिफिङसहित प्रत्यक्ष अवलोकन गराउने छ ।

‘भाजपा दुनियाँकै सबभन्दा ठूलो राजनीतिक दल हो र भारत लोकतन्त्रको जननी हो । भाजपा कसरी चुनावी अभियान सञ्चालन गर्छ भन्ने बारेमा प्रत्यक्ष अनुभव गराउनका लागि हामीले विभिन्न देशका राजनीतिक दललाई निमन्त्रणा पठाएका थियौं । त्यसमध्ये यो अभियानमा आउन चाहेका देशका राजनीतिक दललाई निम्त्याएको हौं’, चौथाइवालेको भनाइ छ, ‘यो हाम्रो सैद्धान्तिक पक्षभन्दा पनि व्यावारिक पक्षका विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले गरिएको कार्यक्रम हो ।’

चौथाइवालेका अनुसार बुधबार दिल्ली पुगेका उनीहरू सोही दिन साँझ भाजपा मुख्यालयमा पुगेर पहिलो चरणको छलफल सम्पन्न गरिसकेका छन् । त्यसपछि बिहीबारबाट उनीहरू तीनवटा समूहमा बाँडिएर भारतका विभिन्न स्थानमा भइरहेका चुनावी अभियानको अवलोकन गर्न पुगेका छन् । जसअन्तर्गत एउटा समूह गुजरात, दोस्रो समूह छत्तिसगढ र तेस्रो समूह मध्यप्रदेश जाने कार्यतालिका बनेको छ । एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार भाजपाले नेपाली प्रतिनिधिमण्डललाई छत्तिसगडको रायपुरमा हुने चुनावी अभियानमा अवलोकन गराउन पठाएको छ ।

चौथाइवालेका अनुसार उनीहरू भाजपाको चुनावी अभियान भइरहेका निर्वाचन क्षेत्रमा निरन्तर तीन दिन बिताउनेछन् । ‘त्यहाँ उहाँहरूले भाजपाको ग्राउन्ड क्याम्पियन अवलोकन गर्नुहुनेछ’, चौथाइवालेको भनाइ छ, ‘भाजपाका उम्मेदवारहरू आफ्नो चुनावी क्षेत्रका मतदातासँग कसरी अन्तरक्रिया गर्नुहुन्छ, कसरी साइडलाइन बैठकहरू चल्छन्, घरदैलो अभियान कसरी गर्छौं, केन्द्रबाट पुग्ने र अन्य नेताहरूसँग उम्मेदवार र मतदाताको भेटघाट कसरी व्यवस्थापन गरिन्छ र मिडिया तथा सोसल मिडिया सेन्टर कसरी सञ्चालन गरिन्छ भनेर प्रत्यक्ष देखाइने छ ।’

उनीहरूलाई चुनावी क्षेत्रमा रहेका केन्द्र कार्यालयहरू र स्थानीय मतदाता तथा चुनावसँग सम्बन्धित विभिन्न पक्षसँग पनि चुनावका बारेमा अन्तरक्रिया गराउने चौथाइवालेको भनाइ छ ।

भाजपाले किन बोलायो चुनावकै बेलामा ?

भारतमा सुरू लोकसभा चुनाव २०२४ का सातमध्ये पहिलो र दोस्रो चरणको मतदान सम्पन्न भइसकेको छ । अब ७ मेमा तेस्रो चरणको मतदानको कार्यक्रम छ । यही बीचमा भाजपाले विश्वका करिब ६० भन्दा बढी देशका राजनीतिक दलहरूलाई ‘भाजपा जानौं’ अभियान अन्तर्गत चुनावी कार्यक्रममा सहभागी हुन निम्तो पठाएको थियो । तर त्यसमध्ये १० देशका १८ वटा राजनीतिक दलका प्रतिनिधिहरू भारत पुगेका हुन् । चुनावकै बेलामा विभिन्न देशका राजनीतिक दलहरूलाई भाजपाले किन बोलायो भारत ?

भाजपा विदेश विभाग इन्चार्ज चौथाइवालेका अनुसार दुनियाँको सबभन्दा ठूलो लोकतान्त्रिक शक्ति भाजपा लोकतन्त्रको जननी भारतमा कसरी चुनाव सम्पन्न गराइरहेको छ भनेर देखाउन चाहन्छ । भाजपाले यो यस्तो कार्यक्रम दोस्रोपटक गरिरहेको छ । पहिलोपटक ‘भाजपा जानौँ’ अभियान सञ्चालन भएको केही समयपछि भारतको राष्ट्रिय सभा चुनावका बेलामा सन् २०२२ मा हिमाचल र गुजरात तथा सन् २०२३ को नोभेम्बरमा राजस्थान र मध्यप्रदेशमा दिल्लीमा रहेका केही देशका कूटनीतिज्ञसँग यो अभ्यास गरिरसकेको थियो ।

‘हामीले गएका वर्षमा केही सानो स्केलका अनुभवहरू लिने अवसर पायौं । दिल्लीमा रहेका विभिन्न देशका राजदूतलाई भाजपाको चुनावी अभियान हेर्न चाहनुहुन्छ भने हामी देखाउन चाहन्छौं भनेर अपिल गरेका थियौं’, उनको भनाइ छ, ‘त्यसमा धेरै कूटनीतिज्ञले स्वीकार गर्नुभयो । पछि हामीलाई लाग्यो त्यसको दायरालाई बढाएर राजनीतिक दलसम्म पुग्नुपर्छ । त्यसैले यसपटक राजनीतिक दलकै प्रतिनिधिहरूलाई निम्त्याएर हामीले गरिरहेको लोकतन्त्रको अभ्यासबारे परिचित गराउन चाहेका हौं ।’

उनी यसलाई भाजपाले भारतमा कसरी चुनाव जितिरहेको छ जित्छ भनेर देखाउने शोकेस भएको बताउँछन् । यसअघि कूटनीतिज्ञलाई मध्यनजर गर्दै आएको यो कार्यक्रम पहिलोपटक राजनीतिक दलहरूसँग गर्न लागेको उनको भनाइ छ ।

परराष्ट्र मामला जानकार चन्द्रदेव भट्ट भाजपा विश्वको शक्तिशाली अर्थतन्त्र निर्माण गरेर प्रतिस्पर्धा गरिरहेको भारत विश्वका सञ्चार माध्यममा प्रचार भइरहेको आफ्नो नकारात्मक छविलाई चिर्नका लागि यस्तो अभियान सञ्चालन गरिरहेको रूपमा बुझ्छन् ।

‘ग्लोबल मिडियामा आफ्नोबारे भइरहेको नकरात्मक प्रचारलाई चिर्न, अनि भाजपा चुनाव कब्जा गर्छ भन्ने भाष्यलाई चिर्न चाहन्छ र आफूले लोकतान्त्रिक हिसाबले कसरी काम गर्छौं भन्ने देखाउन चाहन्छ । विश्वको सबभन्दा ठूलो राजनीतिक दल भएको दाबी गरिरहँदा ग्रास लेभलमा आफ्नो वास्तविकता के छ भनेर समेत चिनाउन चाहन्छ’, भट्टको भनाइ छ, ‘सार्वजनिक वृत्तमा भाजपा भनेको नरेन्द्र मोदी र नरेन्द्र मोदी भनेको भाजपा हो भन्ने छ । भाजपा यसलाई चिरेर व्यक्ति मात्रै होइन, हाम्रो संगठन पनि बलियो छ भन्ने साबित गर्न चाहेको देखिन्छ ।’

परराष्ट्र मामलाका जानकार भट्टले भनेजस्तै भाजपा र मोदीबारे विश्वभर धेरै ठूलो नकारात्मक चर्चा बढी हुने गरेको छ । विशेषगरी धर्म र साम्प्रदायिक मामलामा भाजपा बढी असहिष्णु देखिएको रिपोर्ट केही भारतीय मिडियामा मात्रै होइन, पश्चिमा सञ्चार माध्यममा समेत व्यापक स्थान पाइरहेका हुन्छन् । त्यसले उसको उदाउँदो अर्थतन्त्र र विकासको भाष्यलाई खलबल्याइरहेको छ । यसअघिका चुनावमा मोदीले कहिले छिमेकीसँग सीमानामा युद्ध चर्काएर त कहिले देशभित्र धार्मिक द्वन्द्व चर्काएर चुनावको प्रचार गरिरहेको आरोप लागेको थियो ।

भारत यतिबेला विश्वको पाँचौ ठूलो अर्थतन्त्र हो भने चाथौ ठूलो सामरिक शक्ति हो । ग्लोबल साउथमा महत्वपूर्ण भारत ठूलो जनसंख्या र विविधता समेत भएको मुलुक हो । भाजपाले आफ्नो सकारात्मक छविको प्रचार र विश्वास सिर्जना गराउनका लागि ‘भाजपा जानौं’ अभियान चलाएको भट्टको बुझाइ छ ।

‘महत्वपूर्ण कुरा भारत विश्व शक्ति बन्ने प्रतिस्पर्धामा छ, तर विश्वभर भारतमा जातीय असमानता र धार्मिक असहिष्णुता छ भनेर प्रश्न उठिरहेको छ’, उनी भन्छन्, ‘भाजपा भने विस्तारै जात र धर्मको राजनीतिबाट वर्गीय राजनीतितर्फ मोडिन खोजेको देखिन्छ । महिला, युवा, गरिब र अल्पसंख्यकको विषयलाई प्रधानताका साथ प्रचार गरिरहेको छ । त्यसले ऊ आफ्नो मुलुकमा भएको असमानताको छविलाई चिरेर समानताको छविलाई देखाउन खोजिरहेको छ ।’

उनी यस्तो निम्तो मानेर नेपाली नेताहरू भारत जानुलाई नकारात्मक हिसाबले लिन नहुने बताउँछन् । नेपालमा राजनीतिक दलहरू संगठन र एजेन्डाको बलमा भन्दा पैसा र शक्तिको बलमा चुनाव जित्न सकिन्छ भन्ने मानसिकताबाट गुज्रिरहेका भन्दै उनी भाजपाले जे गरेको छ त्यही गर्न जरुरी नभएको, तर उसले कसरी आफ्नो शक्ति बढायो भन्ने कुरा सिक्न अनिवार्य भइसकेको बताउँछन् ।

विश्वव्यापी पहुँच बनाउन चलाइएको अभियान

भाजपाले ‘भाजपा जानौं’ अभियान चुनावको समयमा मात्रै नभएर अघिपछि समेत गर्दै आएको छ । भाजपा अध्यक्ष जेपी नड्डाले ६ अप्रिल २०२२ मा यसको सुरुवात गरेदेखि उनले विभिन्न देशका राजनीतिक दलका नेताहरूसँग यो कार्यक्रम गरिसकेका छन् ।

नेपालबाट तत्कालीन प्रधानमन्त्रीको हैसियतमा शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्रीको हैसियतमा पुष्पकमल दाहाल प्रचण्डसमेत ‘भाजपा जानौं’ अभियान अन्तर्गत भाजपाको मुख्यालयमा पुगिसकेका छन् । देउवा यसअभियानमा अन्तर्गत भाजपा मुख्यालय पुग्ने पहिलो राष्ट्र प्रमुख भएको भाजपाले आफ्नो वेबसाइटमा राखेको छ ।

यस्तै पूर्वप्रधानमन्त्री र मन्त्रीको हैसियतमा भाजपाले जापान, अस्ट्रेलिया, तान्जानिया, इजरायल, भियतनामलगायत कैयौं देशका राजनीतिक दलका प्रतिनिधिलाई आफ्नो पार्टी मुख्यालय घुमाइ सकेको छ । यसअघि नेपालबाट कांग्रेस, माओवादी केन्द्र, एमाले, जनमतलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि मण्डललाई दिल्ली मुख्यालय घुमाउने र आफ्नो पार्टी गतिविधि तथा संरचनाबारे जानकारी गराउने गरेको छ ।

यस्तै दिल्लीमा रहेका विभिन्न मिसनका प्रमुखलाई भाजपाले हरेक महिनाजसो यस्ता कार्यक्रममा सहभागी गराइरहेको छ । यस्तै भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूसँग समेत भाजपाले ‘भाजपा जानौं’ अभियानलाई सञ्चालन गरिरहेको छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply