नेपालको आकासमा तुवाँलो: के यसपटक अचाक्ली देखा परेको हो?

0
तुवाँलो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

“यो वर्ष अलि बढि नै भयो!”

प्रदूषण, त्यसको असरका रूपमा देखा परेको तुवाँलो वा त्यसको मुख्य कारक ठानिएको डढेलोको कुरा हुने बित्तिकै वातावरण विभागका एक अधिकारी दीपक ज्ञवालीले बीबीसीसँग भने।

विभागको वातावरण प्रदूषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख रहेका उनले विगतका वर्षमा समेत प्रदूषणको प्रवृत्ति एप्रिल-मे महिनातिर यस्तै हुने भए पनि त्यसको तह ‘यति धेरै नहुने गरेको’ सुनाए।

“डढेलो चाहिँ अधिकांश चार कोशे झाडी र चुरेभावर क्षेत्रमा देखा परेको हो। तर यस पटक आगो लामो समयसम्मै लाग्यो र हावा उत्तरतर्फ लाग्ने प्रवृत्ति देखा पर्‍यो,” ज्ञवालीले भने।

“जसले गर्दा ठूला नदीका खोँचहरू हुँदै तल्लो तहमा देखिएका धूवाँ उकालो लाग्ने प्रवृत्ति देखिएको छ।”

भूउपग्रहबाट खिचिएका तस्बिरमा समेत नेपाल बीचतर्फको भागमा धेरैतिर तुवाँलोले ढाकिएको देखिएको थियो।

एक जना वायु प्रदूषण विज्ञले तुवाँलोका रूपमा देखा परेको वायु प्रदूषण भनेको पीएम २.५ अर्थात् निकै मसिना कणहरू हुने भन्दै त्यसको गहिरो असर एकैसाथ मानिसहरूको स्वास्थ्य र वातावरणमा पर्ने चेतावनी दिन्छन्।

“यस्ता मसिना कण थरीथरीका ट्रेस (थोरै मात्रामा पाइने रसायन) पदार्थ, ब्ल्याक कार्बन, र थरीथरीका प्रदूषकहरू मिलेर बनेको हुन्छ,” क्लिन एअर एशियासँग आबद्ध विज्ञ भूपेन्द्र दासले भने।

“अहिले बढिरहेको प्रदूषणमा ठूलो हिस्सा यिनै पीएम २.५ को छ। त्यसैले हामी निकै चिन्ताजनक अवस्थामा छौँ।”

पोखरामा देखिएको असर

तुवाँलो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

मध्य वैशाखमा चार दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण कुनै उडान भएन। अन्य केही दिन समेत आंशिक रूपमा उडानहरू तुवाँलोकै कारण प्रभावित भएका थिए।

कम प्रकाश भएको अवस्थामा विमानको अवतरण क्षमता समेत कमजोर हुने गर्छ। पोखराका हकमा स्थल आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) विधिबाट हुने उडानका लागि भिजिबिलिटी कम्तीमा ३,७०० मिटर र अन्य विधिका हकमा ५,००० मिटर हुनुपर्ने तोकिएको छ।

विमानस्थलका एअर ट्राफिक सेवा प्रमुख योगेन्द्र कुँवर त्यसबेला ‘चाहिने भन्दा कम’ भिजिबिलिटीले उडानहरू रद्द गर्नुपरेको बताउँछन्।

“गत वर्ष समेत तीन दिन अवरुद्ध भएको थियो, यस पटक केही बढ्यो।”

पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरूले यस पटक प्रदूषणबाट स्वास्थ्यको मार मात्र नखेपीकन आर्थिक मार समेत खेप्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका पाइन्छन्।

वातावरण विभागका ज्ञवालीले पोखरामा यस पटक उच्च असर देखा पर्नुमा त्यस आसपास समेत व्यापक रूपमा लागेको डढेलो र त्यस भेगको तलपट्टि चितवन राष्ट्रिय निकुञ्ज एवं आसपासमा लागेको व्यापक डढेलो समेत मुख्य कारण रहेको बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले तोकेको मापदण्ड अनुसार एक क्युबिक मिटर हावामा औसत पाँच माइक्रोग्राम भन्दा धेरै पीएम २.५ (निकै मसिना कण) हुन नहुने तोकिएको छ।

“तर पोखराका हकमा त्यो प्रति क्युबिक मिटरमा ८० माइक्रोग्राम हाराहारीमा देखिन्छ,” बिहीवार बीबीसीसँग कुरा गर्दै वायु प्रदूषण विज्ञ भूपेन्द्र दासले भने।

“यो त संसारकै निकै खराबमध्येको अवस्था हो। हामीले देखिरहेको तुवाँलोमा हुने त्यही पीएम २.५ कणहरू हुन्।”

‘झन् खराब’ नयाँ प्रवृत्ति

डढेलो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

सन् २०१२ देखि सन् २०२१ सम्मको अवस्था केलाउँदा उक्त अवधिमा देशभर दशौँ हजारको सङ्ख्यामा डढेलो लागेको पाइएको थियो।

त्यसमा सन् २०२१ मा सबैभन्दा खराब अवस्था देखा परेको थियो। त्यस यताका वर्षमा समेत अवस्था सुध्रनुभन्दा बिग्रिरहेको अधिकारीहरू बताउँछन्।

सन् २०२२ मा ज्यानुअरी १ देखि मे महिनामा १,२३६ वटा डढेलो लागेका थिए र त्यही अवधिमा सन् २०२३ मा २,५१९ वटा घटना भएकोमा यो वर्ष ४,५१२ वटा डढेलोका घटना भएका छन्।

गत हिउँद् अहिलेसम्मकै सुख्खामध्येको पाइएपछि विज्ञहरूले सुरुदेखि नै सन् २०२४ मा धेरै डढेलोका घटना देखा पर्ने चेतावनी दिँदै आएका थिए।

“यो वर्ष फेरि अर्को सबैभन्दा खराब वर्ष हुने देखिन्छ। किनकि ऐतिहासिक रूपमा हेर्दा यस पटक तापक्रम समेत नयाँ उच्च विन्दुमा पुगिरहेको पाइन्छ,” वायु प्रदूषण विज्ञ भूपेन्द्र दास भन्छन्।

“मार्च-एप्रिलमै झन् तापमान बढ्दा समस्याहरू बल्झिएका पाइएका छन्। कृषि अवशेषका रूपमा गहुँका खोस्टा समेत यही बेला जलाइन्छन्। प्रदूषणका नियमित स्रोत त छँदैछन्। तातो हावाको लहरले त्यसलाई झन् खराब बनाएको छ।”

दासजस्ता विज्ञले नेपालमा जलवायु परिवर्तनको एउटा प्रमुख असरका रूपमा छोटो छोटो अवधिमा देखा पर्ने प्रदूषण भए पनि अधिकांश ध्यान दीर्घकालीन असरतर्फ मात्र केन्द्रीत भएको बताउँछन्।

खुला रूपमा हुने आगजनीका घटना ‘ब्ल्याक कार्बन’को एउटा मुख्य स्रोत भएको भन्दै उनले त्यसबाट एक्कासी गर्मी वा चिसो भइदिनेजस्ता प्रवृत्ति देखा परिरहेको बताउँछन्।

“त्यसबाहेक ब्ल्याक कार्बन हिमालमा पुगेर बरफमा परेमा जम्मा भएमा हिउँ पग्लिने दरलाई समेत त्यसले बढाइदिन्छ। त्यसैले प्रदूषणको पछिल्लो यस प्रवृत्तिलाई हलुका रूपमा हेर्नु हुँदैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply