अमेरिकामा किन लगातार भारतीय विद्यार्थीहरूको मृत्यु भइरहेको छ?
सेन्ट लूइस, मिजोरीस्थित वाशिङ्टन विश्वविद्यालयका विद्यार्थी जे सुशील उदास भएको बताउँछन्।
उनी गत फेब्रुअरीमा भारतका ३४ वर्षीय शास्त्रीय नर्तक अमरनाथ घोषको मृत्युले अझै स्तब्ध छन्।
स्थानीय प्रहरीले उनको हत्या भएको हुन सक्ने ठान्दै अनुसन्धान गरिरहेको छ।
सुशीललाई आफ्नो विश्वविद्यालयबाट कुनै जानकारी प्राप्त हुनुअघि नै भारतबाट एक साथीले घोषको मृत्युको बारेमा जानकारी दिएका थिए।
उनी भन्छन्, “उनीहरूले हामीलाई दुई दिनपछि मात्र भने। विद्यार्थीहरू समग्रमा यस्तो व्यवहारबाट अति बेखुसी छन्। यो त ‘भारतीयहरूले कस्तो महसुस गर्छन् भनेर कसले वास्ता गर्छ र?’ भने जस्तो छ।”
घोषको क्याम्पसबाहिर सहरको सडकमा गोली हानेर हत्या गरिएको थियो।
विश्वविद्यालय के भन्छ?
विद्यार्थीको मृत्युबारे विश्वविद्यालयले चाहिँ कानुन कार्यान्वयन गर्ने निकायहरूले उनको पहिचान पुष्टि गरेपछि मात्र जानकारी दिने चलन रहेको स्पष्ट पारेको छ।
विश्वविद्यालयका भनाइमा त्यो प्रक्रिया पूरा गर्न समय लाग्छ र विद्यार्थीका नजिकका आफन्तको सहमतिमामा मात्र त्यस्तो जानकारी दिइन्छ।
उक्त घटनालाई सेन्ट लूइसस्थित वाशिङ्गटन विश्वविद्यालयको ‘मार्केटिङ एन्ड कम्युनिकेशन्स’की उपकुलपति जुली फ्लोरीले “भयानक त्रासदी” भनेकी छन्।
उनले भनिन्, “हामीले यो दुःखद खबर हाम्रो समुदायका सदस्यसँग सकेसम्म तुरुन्तै र अमरनाथका निकटतम व्यक्तिहरूको इच्छाअनुसार साझा गरेका हौँ।”
सेन्ट लूइसको प्रहरी विभागले मृतकको “पहिचान स्थापित गर्न ४८ घण्टा” वा “कैयौँ अवस्थामा त्यो भन्दा लामो समय” लाग्ने बताएको छ।
भारतीय विद्यार्थीको मृत्युको प्रवृत्ति
घोष यो वर्ष हालसम्म अमेरिकामा मृत्यु भएका ११ जना भारतीय वा भारतीय मूलका विद्यार्थीमध्ये एक हुन्।
त्यसले अमेरिकास्थित भारतीय विद्यार्थी समुदायमा व्यक्तिगत सुरक्षाबारे डर पैदा भएको छ।
मृत्युका कारण फरकफरक छन्। त्यस्ता कारणमा अति जाडोका कारण शरीरको तापक्रम न्यूनतमभन्दा निकै कम हुने ‘हाइपोथर्मिया’ भनिने अवस्थादेखि आत्महत्या र गोली प्रहारका घटनासम्म छन्।
विज्ञहरू चाहिँ यी असम्बन्धित घटनाबीच स्पष्ट खालको कुनै सम्बन्ध नरहेको बताउँछन्।
तर प्रत्येक घटनाले उत्पन्न गरेको त्रासदीबारे क्याम्पसहरूमा चर्चा हुन्छ र विद्यार्थीहरू आफ्ना शैक्षिक कार्यबीच डराउँदै आफ्नो दैनिकी जारी राख्छन्।
डरको अवस्था
“हामी अँध्यारो भएपछि बाहिर निस्कन छाड्छौँ। हामीले सहरमा बेलुका असुरक्षित हुन सक्ने ठाउँहरू पहिचान गरेका छौँ। हामी अरू के नै गर्न सक्छौँ र?” सुशीलले भने।
सुशीलजस्तै अरू पनि आफ्नो विश्वविद्यालयले साथीहरूको मृत्युबारे समयमा खबर नगरेको र त्यसबारे आफूहरूले भारतीय सञ्चारमाध्यम वा भारतमा रहेका आफन्तबाट थाहा पाएको बताउँछन्।
क्लीभल्यान्ड स्टेट यूनिभर्सिटी (सीएसयू) का २५ वर्षे विद्यार्थी मोहम्मद अब्दुल अर्फाथ गत महिना मृत अवस्थामा फेला परे। उनी गत मार्चदेखि हराइरहेका थिए।
उनी अध्ययनरत कलेजमा भर्ना भएका आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक विद्यार्थीले अर्फथको मृत्युबारे आफ्ना आमा-बुवाले पठाएको ह्वाट्सएप सन्देशबाट थाहा पाएको बताए।
“मेरा आमा-बुवाले मलाई म पनि होसियार हुनुपर्छ भनेर सम्झाउनु भयो,” उनले भने।
सन् २०२२-२३ मा झन्डै दुई लाख ६७ हजार भारतीयहरू अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए र यो सङ्ख्या सन् २०३० सम्ममा १० लाख पुग्ने अनुमान गरिएको छ।
“भारतमा अमेरिकी डिग्रीको इच्छा र आकर्षण धेरै गहिरो छ र यसले भारतीय परिवारहरूलाई आकर्षित गर्छ,” न्यूयोर्कस्थित एक जना शिक्षा विज्ञ रजिका भण्डारी भन्छिन्।
न्यूजर्सीस्थित ड्र्यू विश्वविद्यालयका सहप्राध्यापक साङ्गे मिश्रा ती मृत्युहरूलाई जोड्ने कुनै “स्पष्ट खाका” नभएको बताउँछन्।
उनी भन्छन्, “उनीहरू भारतीय भएकाले यो भइरहेको छ भनेर व्यापक रूपमा बनाउन खोजिएको भाष्यको जञ्जालमा नपर्नु नै महत्त्वपूर्ण हुन्छ।”
“रङ्गभेद वा जातीय शत्रुताका आधारमा यी आक्रमणहरू भएका हुन् भन्ने देखाउने खालका कुराहरू मैले देखेको छैन।”
भारतीय अभिभावक के भन्छन्?
भारतीय अभिभावक आफ्ना छोराछोरीसँग नियमित सम्पर्कको प्रयास गर्ने गरेको बताउँछन्।
आफ्ना छोरा यूनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियामा अध्ययनरत रहेको बताउने मीनु अवाल भन्छिन्, “टाढा, भारतमा बसेर यस्ता समाचार सुन्दा हामीलाई डर लाग्छ।”
भारतको जयपुर सहरकी नीतु मर्दा न्युयोर्क यूनिभर्सिटीमा अध्ययनरत आफ्नी छोरीसँग हरेक दिन कुरा गर्छिन् र उनका साथीहरूको फोन नम्बर पनि लिएर राख्छिन्।
उनी भन्छिन्, “म उसलाई अपरिचित व्यक्तिसँग एक्लै बाहिर नजान आग्रह गर्छु।”
विभिन्न क्याम्पसका विद्यार्थीहरूले आआफ्ना कलेजले बनाएका सुरक्षा नियमहरू पालना गर्छन्।
म्यासच्यूसिट्सस्थित टुफ्ट्स यूनिभर्सिटीमा रहेको ‘असोसिएशन अफ साउथ एशियन्स’का सहअध्यक्ष अनुष्का मदन र इशिका गुप्ता उनीहरूले पनि सामान्य सुरक्षा नियमहरू बनाएको बताउँछन्। त्यसमा रातको समयमा क्याम्पसमा एक्लै नहिड्नु भन्ने पनि छ।
गुप्ता भन्छिन्, “बोस्टन सामान्यतया धेरै सुरक्षित छ तर अहिले हामी हाम्रो वरपरको अवस्थाबारे अलि बढी सतर्क भएका छौँ।”
मनोवैज्ञानिक प्रभाव
भौतिक सुरक्षासँगै विश्वविद्यालयहरू विद्यार्थीमा पर्न सक्ने मनोवैज्ञानिक प्रभावबारे सचेत रहेका छन्।
“के स्पष्ट भएको छ भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मानसिक स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन्। त्यो व्यापक आर्थिक दबाव र शैक्षिक दबावको संयोजनका कारण भएको हो। त्यस्तो दबाव भिसाको अवस्थामा कुनै असर नपरोस् भन्ने चाहना कारण उत्पन्न भएको हो,” शिक्षाविद् भण्डारी भन्छिन्।
“घरबाट हजारौँ माइल टाढा रहेका विद्यार्थीका लागि यो ठूलो मनोवैज्ञानिक बोझ हो।”
अरु पनि विभिन्न आर्थिक र सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीले विदेशमा फरक अनुभव गर्ने ठान्छन्।
“अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफूलाई सहज हुने प्रणाली छोड्दा र नयाँ संस्कृतिमा घुलमिल हुनुपर्दा अनौठो तनावको सामना गर्छन्,” सीएयूकी कार्यकारी सञ्चार निर्देशक रीना अरोरा-सान्चेज भन्छिन्।
अमेरिकास्थित भारतीय दूतावासले विद्यार्थीहरूलाई दूतावासमा सम्पर्क गर्नका लागि निर्देशिका जारी गरेको छ र नियमित रूपमा अनलाइन तथा व्यक्तिगत रूपमा पनि छलफलका सत्रहरू आयोजना गर्छ।
जोर्जिया इन्स्टिच्यूट अफ टेक्नोलोजीस्थित ‘इन्डिया क्लब’का अध्यक्ष प्रथम मेहता उक्त संस्थाका “बृहत् भारतीय विद्यार्थी समुदायसम्म” आफूहरूको पहुँच र सम्पर्क रहेको बताउँछन्।
त्यहाँ क्याम्पसभित्रै हुने विभिन्न थेरपी सेवाहरू उपलब्ध छन् र उक्त क्लबले असुरक्षित महसुस गर्ने विद्यार्थीलाई भारतीय वाणिज्य दूतावाससँग सम्पर्क स्थापित पनि गराइदिन्छ।
सीएसयूले विद्यार्थीलाई विश्वविद्यालयको प्रहरी विभागसँग जोड्ने एपसँगै क्याम्पसनजिकै रहेको विद्यार्थी आवासका लागि निःशुल्क सुरक्षित रूपमा ल्याइदिने र पुर्याइदिने सेवा पनि प्रदान गर्छ।
सुरक्षा चिन्ता
कलेज छनोट गर्दा विद्यार्थीहरूका लागि सुरक्षा र कानुन कार्यान्वयन सधैँ महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन्।
गत फेब्रुअरीमा भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले भनेका थिए, “भारतीयलाई थाहा भए जस्तै संयुक्त राज्य अमेरिका अध्ययनका र सुरक्षित रहनका लागि एउटा अद्भुत ठाउँ हो भन्ने बनाइराख्न हामी धेरै नै प्रतिबद्ध छौँ।”
तर हालै भएका भारतीय विद्यार्थीहरूको मृत्युको सङ्ख्याले उक्त विषयले धेरैको ध्यान तानेको छ।
अमेरिकी विश्वविद्यालयहरूलाई “भारतीय विद्यार्थीमा विदेशमा पढ्ने व्यापक र बढ्दो इच्छा रहेको” थाहा भएको भण्डारी बताउँछिन्।
उनी भन्छिन्, “संस्थाहरू विद्यार्थीको त्यो चासोबाट फाइदा उठाउने प्रयास गर्ने कठिन स्थानमा रहेका छन् तर व्यक्तिगत सुरक्षाबारे कैयौँ वास्तविक चिन्ताहरू पनि छन् भन्नेमा उनीहरूको स्वीकारोक्ति छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।