शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान

0

पोखरा । शिवशक्ति मार्ग टोल विकास संस्था, पोखरा ११, फूलबारीले ४४ जना ज्येष्ठ नागरिकलाई सामूहिक सम्मान गरेको छ ।

नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदानसहित संस्थाले ज्येष्ठ नागरिक (२२ पुरुष र २२ महिला) लाई प्रमाणपत्र हस्तान्तरण गर्दै टीकासहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री बिन्दुकुमार थापाले टोलले गरेका कामको प्रशंसा गर्दै आवश्यक कामका पहल गर्ने बताए । उनले सिसिटिभी क्यामरा माग गरिएअनुसार सोको व्यवस्था गर्ने पनि बताए ।

पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले संस्थामा दुवैपट्टी नाला ढलान गर्नेबारे बताएका थिए ।

संस्थाका अध्यक्ष रामकृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुशील बास्तोला, संस्थाका पूर्व अध्यक्षहरु पुण्यप्रसाद पौडेल, गोविन्दप्रसाद भण्डारी, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयकी वीनिता दिदी, अञ्जु बहिनी, शिवशक्ति महिला समूह अध्यक्ष गोमा अधिकारी, प्रगति टोल विकास संस्था अध्यक्ष गोमादेवी भुजेल लगायतले टोलको विकासको बारेमा बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष किरण केसी, सञ्चालन सचिव धर्मदत्त ढुंगाना र धन्यवाद ज्ञापन सहसचिव नारायणप्रसाद पौडेलले गरेका थिए ।

Leave a Reply