बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

0

स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई गरेको छ ।

विद्युत नियमन आयोगको आयोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा वितरित आँधीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बिक्रीमा हाल कायम रहेको मूल्यमा ७५ प्रतिशत वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ ।

प्रस्तावबमोजिम मूल्य समायोजनका प्रक्रिया मिलाउनुका साथै उपभोक्तालाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएकोे कम्पनीले जनाएको छ ।
गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद सरस्वती तिवारीले विपिसीले उपलब्ध गराउँदै आएको विद्युतीय गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । न्यून भोल्टका कारण धेरै विद्युतीय उपकरण प्रयोगविहीन बनेको उनको भनाइ छ । करिब ४ दशकदेखि उज्यालो प्रदान गर्दै आएको कम्पनीले हालको अवस्थालाई ध्यान दिँदै मूल्य वृद्धि गर्र्न नहुने उनले भनिन् ।

कार्यक्रममा सांसद् कल्पना तिवारी, नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफ्ले, रामपुर नगरप्रमुख रमणबहादुर थापा, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्या, वालिङ नगर उपप्रमुख कविता तिवारीलगायतले विद्युतीय सेवा प्रवाहका बिपिसीको मात्र लगानी नरहेको जनाउँदै स्थानीयलगायत विभिन्न निकायबाट समेत सहयोग रहेकाले बिपिसीको एकल निर्णयले मात्र मूल्य बढाउन नपाइने बताएका छन् ।

उपभोक्ताहरूले सदरमुकाममा सार्वजनिक सुनुवाई गरेर नहुने, लक्षित वर्गसम्म पुगेर सार्वजनिक सुनुवाई गर्नुपर्ने, बिपिसीले बिजुलीको भोल्ट नबढाउँदा कम्प्युटर कक्षा सञ्चालनमा कठिनाइ भएको, विद्युतीय चुल्होहरू उपयोगविहीन भएको, उद्योग व्यवसाय सञ्चालनमा अवरुद्ध बनेकालगायत समस्या सुनाएका थिए ।

सुनुवाई कार्यक्रममा आफ्ना धारणा राख्ने सहभागी सबै विद्युत् उपभोक्ताले अहिले विद्युत् महसुल बढाउन नहुनेसहितका दाबी सुनाए ।

प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले सहभागीका जिज्ञासाको जवाफ दिँदै २०७३ सालदेखि मूल्य वृद्धि नगरिएको, नेपाल विद्युत् प्राधिकरणसँगै प्रति युनिट १० रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्दै आफ्ना उपभोक्तालाई त्यत्ति नै शुल्कमा नियमित विद्युत् आपूर्ति गराएको, कम्पनी घाटामा गएकाले विद्युत् महसुल वृद्धिको आवश्यकता रहेको जानकारी गराए ।

वितरण केन्द्र जीर्ण बन्दै गएकाले जीर्णोद्धारमा ठूलो लगानी आवश्यक रहेको जनाउँदै उनले सबै वस्तुका मूल्य वृद्धि भइरहेको बताए । बिना जानकारी मूल्य वृद्धि हुँदै आएको बताउँदै उनले नेपाल विद्युत् प्राधिकरण पनि मूल्य वृद्धिको तयारीमा रहेको दाबी गरे ।

कम्पनीले हाल प्रतियुनिट ६ रुपैयाँमा बिजुली बिक्री गर्दै आएको छ । स्याङ्जाका तल्लो भेग र पाल्पाबासीले वुटवल पावर कम्पनीको बिजुली उपयोग गर्दै आएका छन् ।
बिपिसीले २०४८/०४९ सालदेखि आँधीखोला जलविद्युत केन्द्रबाट ९ दशमलव ४ मेगावाट क्षमताको बिजुली बिक्री बितरण गर्दै आएको छ । केन्द्रबाट उत्पादित बिजुली ६ नगरपालिकासहित ४ गाउँपालिकाबासीले उपभोग गर्दै आएका छन् । स्याङ्जा र पाल्पा गरी ४० हजार ४१ ग्राहक रहेको केन्द्रले जनाएको छ ।

विद्युत् नियमन आयोगका सदस्य भागिरथी भट्टराईले अर्थतन्त्र चलायमान र आयोजना सञ्चालनका लागि मूल्यवृद्धिको आवश्यकता औंल्याइन् ।

यसअघि झण्डै २ वर्षअघि बिपिसीले काठमाडौंमा सार्वजनिक सुनुवाई गरेपछि स्थानीय उपभोक्ताले विरोध जनाएका थिए । अहिले पनि उपभोक्ताबीच नै यस्ता कार्यक्रम सञ्चालन गर्न उपभोक्ताले सुझाएका छन् ।

Leave a Reply